दाङ, ६ वैशाख। सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१० धाइरेमा शनिबार साँझ लुम्बिनी प्रदेश ०१००१ ज ०२७१ नम्बरको बोलेरो गाडी सडकबाट करिब ८४ मिटर तल खस्दा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा बनगाड कुपिण्डे नगरपालिका–८ थाराका ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षीय ठगे घर्ती, २९ वर्षीय कर्णबहादुर पुन र ३० वर्षीय मनबहादुर थापाको मृत्यु भएको हो। घाइतेमध्ये सात जनाको अवस्था गम्भीर र सात जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार तीन जनालाई जिल्ला अस्पताल सल्यानमा चिकित्सकले शनिबार राति मृत घोषणा गरेका थिए भने एक जनाको मेहलकुना अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
घाइतेमध्ये केहीको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ भने अन्यलाई थप उपचारका लागि सुर्खेत पठाइएको छ। भौगोलिक विकटताका कारण दुर्घटनापछि करिब चार घण्टापछि मात्रै सबै घाइतेको उद्धार सम्भव भएको प्रहरीले जनाएको छ।
बनगाड कुपिण्डे नगरपालिका–८ थाराबाट कालिमाटी गाउँपालिका–१ लक्ष्मीपुरतर्फ जन्ती लिएर जाँदै गरेको गाडी दुर्घटनामा परेको हो। स्थानीय वडाध्यक्ष कुलबहादुर पुरीका अनुसार माइती मान्न (ढोग खुलाउन) जाने क्रममा तीनवटा गाडी रिजर्भ गरिएको थियो, जसमध्ये १८ जना सवार रहेको एक गाडी दुर्घटनामा परेको हो।
दुलाहा,दुलही सवार गाडी भने सुरक्षित रहेको जनाइएको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस