after_navbar

दाङमा ‘सुपर–स्पेशियालिटी’ स्वास्थ्य सेवा सुरु हुँदै


बैशाख ०६, २०८३


दाङ, ६ वैशाख। दाङमा संजीवनी टिचिङ हस्पिटलले ‘सुपर–स्पेशियालिटी’ स्वास्थ्य सेवा सुरु गर्ने भएको छ। घोराही उपमहानगरपालिका–३ बर्गदुवास्थित टिचिङ हस्पिटलले आगामी एक महिनाभित्र ‘सुपर–स्पेशियालिटी’ स्वास्थ्य सेवा सुरु गर्ने भएको हो। अस्पतालले न्यूरोलोजी, कार्डियोलोजी र युरोलोजी सेवा विस्तार गर्न लागेको जनाएको छ।

ad

अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाका अनुसार सेवा विस्तारपछि जटिल रोगका बिरामीले उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता घट्नेछ। हालसम्म साबिक राप्ती क्षेत्रका बिरामीहरू यस्ता सेवाका लागि बाँके र रुपन्देही पुग्नुपर्ने अवस्था थियो।

पत्रकारहरुसंगको छलफलमा उनले चार अर्ब रुपैयाँ लगानीमा निर्माण भएको अस्पताल हाल ३०० शैयामा सञ्चालनमा रहेको जानकारी गराए। उनका अनुसकार जनरल अस्पतालमा फिजिसियन, हाडजोर्नी, स्त्री तथा प्रसूति, बालरोग, मुटुरोग, मानसिक स्वास्थ्य, ग्यास्ट्रोलोजी, दन्त, आँखा लगायतका विशेषज्ञ सेवा उपलब्ध छन्। साथै आइसियु, सिसियु, एनआइसियु जस्ता क्रिटिकल केयर सेवा पनि सञ्चालनमा छन्।

अस्पतालले अत्याधुनिक प्रविधिसहित १.५ टेस्ला क्षमताको एमआरआई र १९२ स्लाइस क्षमताको सिटी स्क्यान सेवा प्रदान गरिरहेको छ। डिजिटल एक्स–रे, म्यामोग्राफी, इको लगायतका परीक्षण सेवा पनि उपलब्ध छन्।

बिरामीको पहुँच सहज बनाउन अस्पतालले दाङका विभिन्न स्थानबाट निःशुल्क बस सेवा सञ्चालन गरिरहेको छ। तुलसीपुर, दंगिशरण, भालुवाङ, गढवा र लमही क्षेत्रबाट दैनिक बस सेवा सञ्चालनमा रहेको अस्पतालले जनाएको छ।

अस्पतालले आगामी तीन वर्षभित्र शैया संख्या ५०० पुर्‍याउने योजना बनाएको छ। साथै नर्सिङ, पारामेडिक्स र एमबीबीएस, बीडीएस जस्ता शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="