after_navbar

सुन चोरीमा संलग्न गिरोहका चार पाकिस्तानी पक्राउ


बैशाख ०८, २०८३


दाङ,८वैशाख। कपिलवस्तु लगायत विभिन्न जिल्लामा सुन चोरीमा संलग्न रहेको आरोपमा चार पाकिस्तानी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुई महिला र दुई पुरुष रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार वैशाख १ गते चन्द्रौटाबाट दुई महिला पक्राउ परेका थिए भने वैशाख ५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई पुरुषलाई नियन्त्रणमा लिइएको हो। चन्द्रौटाबाट पक्राउ परेका महिलाको बयानका आधारमा सोही गिरोहका अन्य सदस्यहरूलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्ने पुरुषहरूमा २३ वर्षीय इरफान अली र ४४ वर्षीय सैफर रहमान रहेका छन्। उनीहरूको साथबाट १७ हजार १३६ अमेरिकी डलर, साउदी रियाल, बंगलादेशी टाका, युएई दिराम र मलेसियन रिंगेटसहित नगद तथा मोबाइल सेट बरामद गरिएको प्रहरीले जनाएको छ।

यसअघि चन्द्रौटास्थित सुरेन्द्र सुनचाँदी पसलबाट सुन चोरी गरेको आरोपमा २० वर्षीया बिबि कसलुम र ४१ वर्षीया सबाना पक्राउ परेका थिए। उनीहरूले ग्राहक बनेर गहना हेर्ने बहानामा सुन चोरी गर्ने र मास्क तथा बुर्का प्रयोग गरी पहिचान लुकाउने गरेको सिसिटिभी फुटेजमा देखिएको थियो। उनीहरूको साथबाट ३८ लाल सुनका झुम्का, नगद तथा पासपोर्टसमेत बरामद गरिएको थियो।

प्रहरीका अनुसार उक्त गिरोहले तौलिहवा, इटहरी, मोरङ र बुटवललगायत स्थानमा समेत सुन चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका चारै जनामाथि अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="