after_navbar

लुम्बिनीमा दलित अधिकारसम्बन्धी विधेयक सर्वसम्मत पारित


बैशाख ०८, २०८३


दाङ,८ वैशाख । लुम्बिनी प्रदेश सभाले दलित अधिकारसम्बन्धी विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ। प्रदेशको सातौं अधिवेशनको १४औं बैठकमा सभामुख तुलाराम घर्तीमगरले उक्त विधेयक पारित भएको जानकारी दिएका हुन् ।

सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक’ माथि छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए।

बैठकमा विश्वप्रेम पाठकले ‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक’ सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गरे भने रामजी प्रसाद घिमिरेले समितिको वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद भुवनेश्वर चौधरी ले योजना कार्यान्वयन र फरफारक प्रक्रिया सहज बनाउनुपर्ने बताए।

शान्ति लोदले रुपन्देहीको मायाँदेवी क्षेत्रमा नागरिकताको समस्या रहेको विषय उठाउनुभयो भने निलम पास्वान ले पूर्व परासीदेखि तौलिहवा हुँदै बर्दियासम्म यातायात सेवा सञ्चालन गर्न माग गरिन।

त्यस्तै भगवतीकुमारी थरुनीले इन्धन मूल्यवृद्धि फिर्ता लिन आग्रह गरिन। सुधाकर पाण्डेयले भन्सार नीतिले सीमावर्ती नागरिक प्रभावित भएको उल्लेख गरे।

सांसद अम्बिका काफ्लेले इ–रिक्सा चालकको लाइसेन्स प्रक्रिया सहज बनाउनुपर्ने माग गरिन। रेवती गुरु ले सरकारलाई जिम्मेवार बन्न आग्रह गरिन । दिलकुमारी बुढा र बसन्ती न्यौपानेले बजेट तथा प्रशासनिक प्रक्रियामा सुधार आवश्यक रहेको बताएका छन्।
लुम्बिनी प्रदेश सभाको अर्को बैठक बुधबार दिउँसो १ बजे बस्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="