after_navbar

गर्भवती मृत्यु प्रकरणः चिकित्सकसहित ५ जना नियन्त्रणमा


बैशाख ०, २०८३


दाङ,९ वैशाख। गर्भपतनका क्रममा पाल्पाको बगनासकाली–२ की २९ वर्षीया गीता पाण्डेको मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा बुटवलका दुई चिकित्सकसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ad

पक्राउ पर्नेहरूमा खत्री नर्सिङ होमका सञ्चालक डा. डीबी खत्री, इन्दु लेखा स्वास्थ्य क्लिनिकका चिकित्सक डा.सतिष रुपाखेती, सोही क्लिनिकका सञ्चालक खगेन्द्रप्रसाद पाण्डे, जोनल फार्मेसीका सन्ध्या बस्नेत र निलम घर्ती मगर रहेका छन्।

मृतकका पति प्रकाश पाण्डेले आर्थिक लाभका लागि उपचारमा गम्भीर लापरवाही गरेको भन्दै ५ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। सोही आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो।

प्रहरीका अनुसार खत्री नर्सिङ होमका सञ्चालक डा. खत्री र डा. रुपाखेती मंगलबार साँझ आफैं इलाका प्रहरी कार्यालय बुटवलमा उपस्थित भएपछि नियन्त्रणमा लिइएको हो। अन्य तीन जनालाई भने यसअघि नै पक्राउ गरिएको थियो।

पाण्डे १२ हप्ताको गर्भ परीक्षणका लागि चैत २७ गते खत्री नर्सिङ होम पुगेकी थिइन्। त्यसपछि उनलाई विभिन्न स्थानमा पठाउँदै उपचार प्रक्रिया अघि बढाइएको थियो।

वैशाख ५ गते इन्दु लेखा क्लिनिकमा गर्भपतन गराउने क्रममा उनको मृत्यु भएको बताइएको छ। मृतकका पतिले लापरवाही र आर्थिक लाभको उद्देश्यले उपचार गरिएको आरोप लगाएका छन्। साथै, आवश्यक रिपोर्ट तथा कागजात लुकाइएको दाबी पनि गरेका छन्।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार घटनाको थप अनुसन्धान जारी छ। प्रहरीले संलग्न सबैको भूमिकाबारे विस्तृत छानबिन भइरहेको जनाएको छ। मृतक गीता रक्त सञ्चार सेवा केन्द्रमा कार्यरत थिइन्। उनका ५ वर्षका एक छोरा छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="