after_navbar

सुकुम्बासी हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन


बैशाख ११, २०८३


काठमाडौ,११ वैशाख । सुकुम्बासी बस्ती खाली गराउने सरकारको निर्णयको विरोधमा थापाथलीको बागमती किनार लगायतका क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयले शुक्रबार प्रदर्शन गरेका छन्। अचानक बस्ती हटाउन लागेको भन्दै उनीहरू सडकमा उत्रिएका हुन्। प्रदर्शनमा राष्ट्रिय जेनजी नागरिक अभियानले पनि साथ दिएको थियो।

प्रदर्शनकारीहरूले “विकासका नाममा उठिबास होइन, अधिकार चाहिन्छ”, “पुनर्वास बिना हटाउने निर्णय मान्य छैन” र “वास्तविक सुकुम्बासीको पहिचान गर” जस्ता नारा लगाएका थिए। अभियानका सह–संयोजक अजय सोडारीले सुकुम्बासीको अधिकारका लागि आफ्नो पूर्ण समर्थन रहेको बताए। उनले सरकारले डोजर चलाउने तयारी गरेर त्रास फैलाएको आरोप पनि लगाए।

यसैबीच, शनिबार बिहानदेखि बस्ती खाली गराउने सूचना पाएपछि केही स्थानीयले आफ्नो सामान सार्न थालेका छन्। भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई हटाउने सरकारी निर्णयपछि यस्तो अवस्था देखिएको हो।

प्रधानमन्त्री बालेन शाहले वैशाख ९ गते सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर बस्ती खाली गराउन निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार शनिबार र आइतबार उपत्यकाका सुकुमबासी बस्ती हटाउने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="