रुकुमपूर्व,१३ वैशाख। शनिबार साँझ परेको भारी वर्षापछि आएको पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।वर्षासँगै लेदोसहितका पहिरो झर्दा जिल्लाका दर्जनौँ स्थानमा सडक अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। सहायक मार्गहरू पनि पहिरोका कारण प्रभावित भएका छन्।
प्रहरी सहायक निरीक्षक वीरबहादुर थापाका अनुसार धौलापहिरा, काँडाबगर, किमुबोट, सुन्तलाबारी, सैपातुङ, काँक्री र सीता लगायत स्थानमा पहिरो खसेको छ। मुरुका दुई स्थानमा पनि पहिरो गएको छ भने धाउन्ने सडकखण्ड समेत अवरुद्ध भएको छ।
भूमे गाउँपालिकाको स्काभेटरसँग समन्वय गरेर पहिरो हटाउने प्रयास भइरहेको छ। मौसम सुधार नआएसम्म अत्यावश्यकबाहेक यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ।
यसैबीच, शनिबार साँझ करिब ६ बजेदेखि जिल्लामा विद्युत् सेवा पनि अवरुद्ध भएको छ। वर्षासँगै परेको असिनाले गहुँबालीमा समेत क्षति पुर्याएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस