after_navbar

गण्डक नहरमा डोजर:३०० संरचना हटाइदै


बैशाख १३, २०८३


काठमाडौ,१३ वैशाख । नारायण सिंचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा तथा अन्य संरचना हटाउन सुरु गरेको छ।

ad

कार्यालयले आइतबार बिहानैदेखि नहरको जानकीटोला देखि गण्डकचोकसम्म फैलिएका अतिक्रमित संरचना हटाउने अभियान थालेको हो। नहरको डिलमा बनाइएका घरटहरा, पसल, माछापोखरी लगायत करिब ३०० भन्दा बढी संरचना हटाइँदै छन्।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षामा चार वटा एस्काभेटर प्रयोग गरी संरचना हटाउने काम भइरहेको कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख मनोजप्रसाद पटेलका अनुसार पर्सा जिल्लामा पर्ने करिब २६ किलोमिटर क्षेत्रमा अतिक्रमण हटाउने कार्य सुरु गरिएको हो। प्रतिकूल मौसमका बाबजुद पनि अभियान अघि बढाइएको उनले बताए।
नेपाल–भारतबीच सन् १९५६ मा भएको गण्डक सिंचाइ सम्झौताअनुसार निर्माण गरिएको यो नहरमार्फत पर्सा, बारा र रौतहटका दक्षिणी क्षेत्रमा सिंचाइ हुँदै आएको छ। करिब ३७ हजार ४०० हेक्टर क्षेत्रमा सिंचाइ गर्ने लक्ष्य रहे पनि हाल करिब २८ हजार हेक्टरमा मात्र पानी पुगिरहेको कार्यालयले जनाएको छ।

नहरमा बढ्दो अतिक्रमणका कारण सिंचाइ प्रणाली प्रभावित भएपछि संरचना हटाउने अभियान सुरु गरिएको कार्यालयको भनाइ छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="