काठमाडौ,१३ वैशाख । स्विस अन्तर्राष्ट्रिय विमान सेवाको विमानको इन्जिनमा आगलागी हुँदा ६ जना घाइते भएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार उडान भर्न लागेको विमान इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमै रहेका बेला इन्जिनमा आगलागी भएपछि उडान स्थगित गरिएको थियो।
दिल्लीबाट जुरिख जान लागेको उक्त विमानमा ४ शिशुसहित चालकदलका सदस्य र यात्रु गरी २३२ जना सवार थिए। आगलागी लगत्तै सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो।
घाइतेहरूलाई स्थानीय निजी अस्पतालमा भर्ना गरिएको जनाइएको छ।विमानस्थल प्रशासनका अनुसार घटनापछि पूर्ण आपतकाल घोषणा गरिएको थियो।
विमान सेवाका अनुसार चालकले सावधानी अपनाउँदै उडान रोकेर यात्रुहरूलाई बाहिर निकाल्ने निर्णय गरेका थिए। घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस