दाङ,१४ वैशाख। निजामती क्षेत्रमा आवद्ध विभिन्न ट्रेड युनियनहरूले संघीय निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौती नगर्न सरकारसँग आग्रह गरेका छन्।
संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले अन्तर्राष्ट्रिय श्रम संगठनका अभिसन्धि र नेपालको संविधानअनुसार सबै पेसाकर्मीलाई संगठित हुने र रोजेको संगठनमा आवद्ध हुने अधिकार सुनिश्चित गर्नुपर्ने बताएका छन्।
सार्वजनिक सेवामा कार्यरत कर्मचारीको हकहित संरक्षण, सहभागिता र सामूहिक सौदाबाजीको अधिकारलाई कानुनी रूपमा मजबुत बनाउन पनि उनीहरूको माग छ।
नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन लगायतका विभिन्न संगठनहरूले संयुक्त रूपमा यस्तो माग गरेका हुन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैशाख ११ गते सार्वजनिक गरेको संघीय निजामती सेवासम्बन्धी विधेयकको मस्यौदामा ट्रेड युनियन अधिकार कटौती गर्ने प्रयासप्रति गम्भीर ध्यानाकर्षण भएको उनीहरूले बताएका छन्।
संविधानले प्रत्येक नागरिकलाई संगठन खोल्ने र श्रमिकलाई ट्रेड युनियनमा आवद्ध भई सामूहिक सौदाबाजी गर्ने अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै उक्त अधिकार कमजोर नबनाउन आग्रह गरिएको छ।
प्रतिक्रिया दिनुहोस