काठमाडौ,१५ वेशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। झापाको दमक नगरपालिका–२ स्थित उक्त विद्यालयका प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार विद्यालय भवन निर्माणमा झुट्टा बिल बनाएर वास्तविक लागतभन्दा बढी रकम भुक्तानी लिइएको पाइएको छ।
प्राविधिक मूल्याङ्कनअनुसार १ करोड ४८ लाख रुपैयाँ खर्च हुनुपर्नेमा २ करोड ७ लाख रुपैयाँ भुक्तानी गरिएको देखिँदा ५९ लाखभन्दा बढी रकम हिनामिना भएको ठहर गरिएको छ।
यसका साथै नगद मौज्दातमा १६ लाखभन्दा बढी बेरुजु देखिनुका साथै करिब १८ लाख रुपैयाँ व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको पनि अनुसन्धानबाट खुलेको छ।
आयोगले दुवै जनाविरुद्ध कुल ९३ लाख ८३ हजार रुपैयाँ बिगो दाबी गर्दै कैद र जरिवानासहित हिनामिना रकम असुलउपर गर्न माग गरेको छ।
प्रतिक्रिया दिनुहोस