दाङ,१५ वैशाख । दाङमा सार्वजनिक जग्गा अतिक्रमण गरि निर्माण गरिएका संरचना हटाउने अभियान सन्चालन गर्ने निर्णय भएको छ। जिल्ला प्रशासन कार्यालय दाङले आह्वान गरेको स्थानीय तहहरूको बैठकले सरकारी तथा सार्वजनिक जग्गामा भएका अतिक्रमण हटाउने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर ९२ अनुसार अतिक्रमण नियन्त्रणमा कडाइ गर्ने निर्णय गरिएको हो।
बैठकले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, जिल्ला प्रशासन कार्यालय घोराही, क्षेत्रीय प्रहरी आवासीय विद्यालय लमही, इलाका प्रहरी कार्यालय तुलसीपुर, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, नेपाल संस्कृत विश्वविद्यालय लगायत विभिन्न सरकारी निकायको जग्गामा भएको अवैध कब्जा तत्काल हटाउने निर्णय गरेको छ।
यसका लागि सम्बन्धित कार्यालयहरूले काम सुरु गर्ने र स्थानीय तह, प्रशासन, सुरक्षा निकाय, मालपोत तथा नापी कार्यालयले आवश्यक सहयोग गर्ने जनाइएको छ।
त्यस्तै नयाँ अतिक्रमणलाई कडाइका साथ रोक लगाउँदै अवैध कब्जा हटाउन लगत संकलन, सूचना प्रकाशन र सरोकारवाला निकायसँग समन्वय गरी विशेष अभियान सञ्चालन गर्ने निर्णय भएको छ।
सरकारी तथा सार्वजनिक जग्गामा बसोबास गर्दै आएका वास्तविक भूमिहीन सुकुम्वासीको लगत संकलन गरी वैकल्पिक व्यवस्थापन गर्ने जिम्मेवारी सम्बन्धित पालिकालाई दिइएको छ।
अभियान सफल बनाउन सबै सरोकारवाला निकाय र जिल्लावासीलाई सहयोग गर्न प्रशासनले अनुरोध गरेको छ

प्रतिक्रिया दिनुहोस