after_navbar

आज लुम्बिनीसहित चार प्रदेशमा तीव्र हावाहुरीको जोखिम: उच्च सर्तकता अपनाउन आग्रह


बैशाख १६, २०८३


दाङ,१६ वैशाख । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लुम्बिनीसहित देशका चार प्रदेशमा तीव्र गतिको हावाहुरी चल्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणले जारी गरेको सूचनाअनुसार बुधबार साँझदेखि लुम्बिनी, कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा हावाहुरी चल्ने सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनीका बर्दिया, बाँके, दाङ र अर्घाखाँची , कोशीका मोरङ, मधेसका धनुषा र बारा तथा सुदूरपश्चिमका डडेलधुरा र डोटी आसपासका क्षेत्रमा यसको प्रभाव बढी रहनेछ।

विभागले साँझ ५:४५ बजेदेखि सुरु हुने हावाहुरी बिहीबार बिहानसम्म जारी रहने अनुमान गरेको छ। यससँगै मेघगर्जन, चट्याङ, असिना र वर्षासहितको प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्ने सम्भावना पनि रहेको छ।
हावाहुरीका कारण रुख ढल्ने, घरका छाना उड्ने, कमजोर संरचना भत्किने तथा विद्युत र सञ्चार सेवा प्रभावित हुन सक्ने जोखिम रहेको प्राधिकरणले जनाएको छ।

यस अवधिमा घरबाहिर ननिस्कन, झ्यालढोका राम्रोसँग बन्द गर्न, कमजोर छानो मजबुत बनाउन र अग्ला रुख तथा विद्युतका तार नजिक नबस्न आग्रह गरिएको छ। साथै मौसमसम्बन्धी सूचना नियमित रूपमा पछ्याउन पनि अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="