दाङ,१७ वैशाख । अखिल नेपाल सुकुमबासी संघले चरणबद्ध संघर्ष कार्यक्रम सार्वजनिक गर्दै अन्ततः देशव्यापी आम हड्तालसम्म जाने घोषणा गरेको हो।
संघका अध्यक्ष अमर परियारका अनुसार सुकुम्बासीलाई लालपुर्जा उपलब्ध गराउने र जबरजस्ती उठिवास रोक्ने मुख्य माग रहेका छन्। साथै, प्रधानमन्त्री बालेन्द्र शाहलाई पदबाट हटाउने मागसमेत अघि सारिएको छ।
पहिलो चरणमा वैशाख २० गतेसम्म राजनीतिक दल र जनप्रतिनिधिलाई ज्ञापनपत्र, फोन तथा सन्देशमार्फत दबाब दिने कार्यक्रम रहेको छ। दोस्रो चरणमा वैशाख २० देखि ३० सम्म देशभर संगठन विस्तार र विरोध कार्यक्रम गरिनेछ।
वैशाख ३१ गते काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘राइट टु रिकल’को आह्वानसहित मेची–महाकाली राजमार्गमा चक्काजाम गर्ने घोषणा गरिएको छ।
यस्तै, जेठ १ देखि ७ गतेसम्म हस्ताक्षर संकलन अभियान चलाइनेछ भने जेठ ७ गतेबाट देशभर अनिश्चितकालीन आम हड्ताल सुरु गर्ने चेतावनी दिइएको छ। संघले सुकुम्बासीको अधिकार सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस