दाङ,२६ वैशाख । दाङको दंगीशरण गाउँपालिकामा किसानहरुलाई अनुदानमा कृषि सामग्री वितरण गरिएको छ। शनिबार दंगिशरण गाउँपालिका–६ बागरस्थित साना किसान कृषि सहकारी संस्थाले किसानलाई कृषि यान्त्रिकीकरण सामग्री वितरण गरेको हो।
संस्थाको २१औं वार्षिक साधारणसभाबाट पारित कार्यक्रमअनुसार शेयर सदस्य किसानलाई अनुदानमा सामग्री दिइएको हो।
कार्यक्रममा संस्थाका अध्यक्ष टंकबहादुर वलीले आधुनिक प्रविधि प्रयोग बढाएर उत्पादन लागत घटाउने र किसानको आम्दानी बढाउने उद्देश्यले सामग्री वितरण गरिएको बताए।
कार्यक्रमका प्रमुख अतिथि रोशनजंग शाहले यस्ता उपकरणले कृषिलाई आधुनिक र व्यवसायिक बनाउन सहयोग पुग्ने बताए। उनले प्राप्त सामग्रीको सही प्रयोग गर्न किसानलाई आग्रह गरे।
कार्यक्रममा ५५ स्प्रे ट्यांकी, १५ मिनिटिलर, ४ ठूला कम्बाइन मिल, १ सानो कम्बाइन मिल, १ पिलेट दाना मिल, २४ मोटर, २ कर्ण सेलर, ५ ज्याप प्लान्टर र ५ पिसानी मिल गरी ११२ थान सामग्री वितरण गरिएको संस्थाले जनाएको छ।
संस्थाका अनुसार वितरण गरिएको सामग्रीको कुल लागत करिब १७ लाख २१ हजार रुपैयाँ रहेको छ। यसमध्ये ६ लाख ३ हजार रुपैयाँ अनुदान र बाँकी रकम किसानको सहभागिताबाट जुटाइएको हो।
कार्यक्रममा उर्मिला परियारले स्वागत मन्तव्य राखेकी थिइन् भने सञ्चालन दीपबहादुर चौधरीले गरेका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस