after_navbar

एकै कक्षाका तीन विद्यार्थी बेपत्ता


बैशाख ३०, २०८३


काठमाडौ,३० वैशाख । रौतहटमा एकैसाथ तीन विद्यार्थी सम्पर्कविहिन भएका छन् । कटहरिया नगरपालिकाको बजार क्षेत्रबाट एकै कक्षामा अध्ययनरत तीन बालक तीन दिनदेखि बेपत्ता भएपछि परिवारसँगै प्रहरी प्रशासन पनि तीव्र खोजीमा जुटेको छ।

कटहरिया–५ निवासी सम्सुदिन अन्सारीका १४ वर्षीय छोरा सकिल अन्सारी, सुरेन्द्र साह सोनारका १४ वर्षीय छोरा कुन्दन साह सोनार र भरत दास सरभंगका १२ वर्षीय छोरा पवनकुमार दास सरभंग गत सोमबारदेखि सम्पर्कबिहीन रहेको पारिवारिक स्रोतले जनाएको छ।

अभिभावकका अनुसार तीनै जना बालक सोमबार दिउँसो विद्यालयबाट घर फर्किएका थिए। त्यसपछि केही समयपछि ‘बाहिर खेल्न जान्छौँ’ भन्दै घरबाट निस्किएका उनीहरू त्यसयता घर नफर्किएको जनाइएको छ।

साँझसम्म बालकहरू सम्पर्कमा नआएपछि परिवारले आफन्त, साथीभाइ तथा सम्भावित स्थानहरूमा खोजी थाले पनि कुनै जानकारी नपाएपछि ईलाका प्रहरी कार्यालय कटहरियामा फोटोसहित निवेदन दर्ता गराएका छन्।


अभिभावकका अनुसार बेपत्ता भएकामध्ये सकिल अन्सारीसँग केही नगद रकम रहेको र उनीहरू भारतको दिल्ली जाने योजना बनाइरहेका थिए भन्ने अपुष्ट जानकारी साथीहरूबाट प्राप्त भएको छ। यद्यपि प्रहरीले यसबारे औपचारिक पुष्टि गरिसकेको छैन।

ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई मोहन आले मगर का अनुसार बालकहरूको तस्वीर र हुलियासहितको विवरण सम्बन्धित सुरक्षा निकायमा पठाइसकिएको छ।

उनले भने, “नेपालभर प्रहरी परिचालन गरिएको छ र भारतीय प्रहरीसँग समन्वयका लागि प्रक्रिया अघि बढाइएको छ।”

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="