after_navbar

चार जीपीए ल्याउने विद्यार्थीलाई सम्मान


२० घण्टा अगाडि


दाङ, २ जेठ । पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयले एसइई परीक्षामा ४ जीपीए ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयले कार्यक्रम आयोजना गरी उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको हो ।

यस वर्ष विद्यालयबाट ९६ जना विद्यार्थी एसइई परीक्षामा उत्तीर्ण भएका छन् । तीमध्ये रमेश सापकोटा, सन्तोष भण्डारी र श्रीधर रिजालले ४ जीपीए प्राप्त गरेका छन् ।उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई खादा र अबिर लगाएर सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक लोकबहादुर बस्नेतले बताए।

सम्मान कार्यक्रममा जिल्ला शिक्षा समन्वय समिति दाङका प्रमुख देवमणी चौधरी, घोराही उपमहानगरपालिका–१५ का वडा अध्यक्ष रमेश पाण्डेय, शिक्षक अभिभावक संघका अध्यक्ष डा. सुरामणि बेल्बासे तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ४ जीपीए ल्याएका तीनै विद्यार्थीले कक्षा ११ र १२ पनि सोही विद्यालयमा अध्ययन गर्ने घोषणा गरेका छन् । विद्यालयले उनीहरूलाई उच्च माध्यमिक तहसम्म निःशुल्क अध्ययनको व्यवस्था गर्ने जनाएको छ ।

सम्मान कार्यक्रमअघि उत्तीर्ण विद्यार्थीलाई बाजागाजासहित विद्यालय परिसर परिक्रमा गराइएको थियो । विद्यालयमा हाल विज्ञान, व्यवस्थापन, शिक्षा तथा प्राविधिक विषयको पढाइ हुँदै आएको छ । विद्यालयका अनुसार प्राविधिकदेखि उच्च माध्यमिक तहसम्म करिब चार हजार विद्यार्थी अध्ययनरत छन् ।

यसैबीच, विज्ञान प्रवर्द्धन कार्यक्रमअन्तर्गत कक्षा ११ मा अध्ययनरत ३४ जना विद्यार्थीलाई छात्रवृत्ति पनि वितरण गरिएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="