दाङ,१० जेठ । देशभर सवारी दुर्घटनाको प्रमुख कारणका रूपमा तीव्र गति देखिएको छ। वैशाख महिनामा भएका कुल दुर्घटनामध्ये आधाभन्दा बढी तीव्र गतिका कारण भएको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ।
प्रहरीका अनुसार उक्त महिनामा देशभर २ हजार २९४ सवारी दुर्घटना भएका छन्, जसमध्ये १ हजार २५३ दुर्घटना तीव्र गतिका कारण भएका हुन्। त्यस्तै चालकको असक्षमताका कारण १३७, हतारमा बाटो काट्दा १३३, मादक पदार्थ सेवनका कारण ११२ र अनावश्यक ओभरटेक गर्दा ४६ दुर्घटना भएका छन्। दुर्घटनामा परी १५८ पुरुष, ५४ महिला र २७ बालबालिका गरी कुल २३९ जनाको मृत्यु भएको छ। साथै ७५२ जना गम्भीर र ३ हजार २२० जना सामान्य घाइते भएका छन्।
उक्त अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्नेविरुद्ध १ लाख ३७ हजार ९४ कारबाही गरिएको छ भने ११ करोड ८२ लाख ७४ हजार १८९ रुपैयाँ राजस्व असुल गरिएको प्रहरीले जनाएको छ। दुर्घटनामा ३ हजार ३३४ सवारी साधन संलग्न रहेका छन्, जसमा दुई पाङ्ग्रे सवारी साधन सबैभन्दा बढी रहेका छन्।
समयअनुसार हेर्दा साँझ ६ बजेदेखि राति १२ बजेसम्म सबैभन्दा बढी, ८५९ दुर्घटना भएका छन्। त्यसपछि मध्याह्न १२ देखि साँझ ६ बजेसम्म ८५०, बिहान ६ देखि १२ बजेसम्म ५०६ र मध्यराति १२ देखि बिहान ६ बजेसम्म ७८ दुर्घटना भएको तथ्याङ्क छ।
यसैबीच, पछिल्लो २४ घन्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ९४ जना घाइते भएका छन्।
प्रतिक्रिया दिनुहोस