दाङ,१९ जेठ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ५० बेडको स्वीकृत भए पनि अहिले १४१ बेड सञ्चालनमा छ। बिरामीको चाप बढेपछि अस्पतालले थप बेड राखेर सेवा दिइरहेको छ।
अस्पताललाई २०० बेडमा विस्तार गर्न २०८० सालमै ओएनएम सर्वे प्रदेश सरकारलाई पठाइएको थियो।
स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयको सहमति लिएर फाइल मन्त्रिपरिषदमा पठाए पनि मुख्यमन्त्री कार्यालयमै अड्कियो। पछि नयाँ कार्यविधि आएको भन्दै फाइल फेरि अस्पतालमै फर्काइएको छ।
अस्पतालका अनुसार अब फेरि नयाँ फाइल बनाएर पठाउन भनिएको छ। चार वर्षदेखि यो प्रक्रिया अघि नबढ्दा सेवा सञ्चालनमा समस्या भएको बताइएको छ।
अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेले जनशक्ति अभाव ठूलो समस्या भएको बताए। उनले समस्या समाधानका लागि पहल गर्ने बताएका छन्।
२०० बेडको प्रस्तावमा ५१५ जना जनशक्ति आवश्यक पर्ने उल्लेख थियो। तर फाइल अगाडि नबढ्दा काम रोकिएको छ। हाल अस्पतालमा ७४ जनाको मात्रै दरबन्दी रहेको छ।
प्रतिक्रिया दिनुहोस