after_navbar

तुलसीपुरमा ३५५ जनामा क्षयरोग संक्रमण पुष्टि


११ घण्टा अगाडि


दाङ,२३ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा हाल ३५५ जनामा क्षयरोग (टिबी) संक्रमण पुष्टि भएको छ।
क्षयरोगमुक्त पालिका निर्माण गर्ने लक्ष्यसहित तुलसीपुर उपमहानगरपालिकाले युवा, नागरिक समाज, सञ्चारकर्मी तथा विभिन्न सरोकारवालासँग अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी गराइएको हो।


कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख ओम प्रकाश न्यौपानेले गत आर्थिक वर्ष ३९९ जनामा संक्रमण पुष्टि भएकोमा चालु आर्थिक वर्षमा हालसम्म ३५५ जनामा क्षयरोग देखिएको जानकारी दिए। उनका अनुसार संक्रमितमध्ये १५ वर्षमाथिका ३२१ जना र १५ वर्षमुनिका ३४ जना रहेका छन्।


न्यौपानेले क्षयरोगका लक्षण, सर्ने तरिका, बच्ने उपाय तथा उपचार प्रक्रियाबारे जानकारी दिँदै समयमै परीक्षण र चिकित्सकको सल्लाहअनुसार नियमित औषधि सेवन गर्नुपर्नेमा जोड दिए। उपचार बीचमै छाडे रोग पुनः बल्झिन सक्ने र थप जटिलता आउन सक्ने उनले बताए ।


कार्यक्रममा नगर प्रमुख टिकाराम खड्काले क्षयरोग स्वास्थ्य क्षेत्र मात्र नभई सामाजिक सरोकारसँग जोडिएको विषय भएको उल्लेख गरे। उनले तुलसीपुरलाई छिट्टै क्षयरोगमुक्त पालिका बनाउने लक्ष्यसहित योजनाबद्ध रूपमा काम भइरहेको बताए ।


मेयर खड्काले सचेतनामूलक कार्यक्रम, समयमै परीक्षण र नियमित उपचारमार्फत क्षयरोग नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गरे। साथै यस अभियानमा नागरिक, संघसंस्था, सञ्चारमाध्यम र युवाहरूको सक्रिय भूमिका आवश्यक रहेको बताए।


कार्यक्रममा क्षयरोगका बिरामीप्रति विभेद नगरी माया, सहयोग र स्याहार गर्नुपर्नेमा जोड दिइएको थियो। साथै बिरामीहरूले आत्मविश्वासका साथ उपचारलाई निरन्तरता दिनुपर्ने सुझाव पनि दिइएको थियो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="