दाङ,२६ जेठ । दाङको लमहीमा ट्रकसँग मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु भएको छ। अर्का एकजना गम्भीर घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका–५ रातोडाँडामा बिग्रिएर सडकमा रोकिराखेको ट्रकको पछाडि मोटरसाइकल ठोक्किएको हो।
मोटरसाइकल ठोक्किँदा लमही–७ हस्नापुरका अन्दाजी ३७ वर्षीय जीवन गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका गिरीलाई लमही अस्पताल पुर्याइएपछि चिकित्सकले मृत घोषणा गरेका हुन्। दुर्घटनामा मोटरसाइकलमा सवार अन्दाजी ३२ वर्षीय धनिराम चौधरी गम्भीर घाइते भएका छन्।
उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी डा. हेमबहादुर केसीले जानकारी दिए।
प्रहरीका अनुसार मङ्गलबार बिहान करिब ४ बजे ना ५ ख ९३३६ नम्बरको ट्रक र लु १२ प ९८४० नम्बरको मोटरसाइकल ठोक्किएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस