काठमाडौ,२६ जेठ । आकर्षक मुलुकमा रोजगारी र उच्च तलबको प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा हुमबहादुर कुँवर, लोकेन्द्र बस्नेत, तोरणकुमार कार्की, रबिन्द्र खत्री, निरज गुरुङ र रिन्कु कुमारी रौनियार रहेका छन्। प्रहरीले उनीहरूले बेलायत, आइसल्यान्ड, सर्बिया, हङकङ र बुल्गेरिया पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट लाखौं रुपैयाँ ठगी गरेको जनाएको छ।
प्रहरीका अनुसार सबैभन्दा बढी रकम कुँवरले दुई जनाबाट ८८ लाख ७० हजार रुपैयाँ असुलेका छन् भने अन्य अभियुक्तहरूले पनि विभिन्न देश पठाइदिने भन्दै रकम उठाएर सम्पर्कविहीन भएका थिए।
पीडितहरूको उजुरीपछि पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस