दाङ,२७ जेठ । लमही नगरपालिका–९ च्याउखोला नजिक पूर्व–पश्चिम राजमार्गमा दूध बोकेको ट्याङ्कर र कार एकआपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन्।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ क ५४९८ नम्बरको दूध ट्याङ्कर र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ९ च ४७९४ नम्बरको कार ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा कार चालक दाङ शान्तिनगर–६ का २५ वर्षीय दिपेश भण्डारीसहित कारमा सवार चार जना घाइते भएका छन्।
घाइते हुनेहरूमा सुर्खेत गुर्भाकोट–४ की २७ वर्षीया गीता विक, गुर्भाकोट–१ का ६१ वर्षीय मादले विक, तुलसीपुर–९ का २५ वर्षीय कपिल केसी र बाँके कोहलपुर–१० की ३२ वर्षीया कौसिला विक रहेका छन्।
घाइते सबैलाई उपचारका लागि बाँके पठाइएको छ। दुर्घटनामा संलग्न ट्याङ्कर चालक कपिलवस्तु बुद्धभूमि–९ का ३४ वर्षीय शिवनारायण थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस