सडक भासिदा रोल्पामा मिनी ट्रक दुर्घटना: एकजनाको मृत्यु
११ घण्टा अगाडि
रोल्पा,२८ जेठ । रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।
बिहीबार बिहान माडि गाउँपालिका–१ पात्लेस्थित बल्ले–झिनुवा भित्री सडकखण्डमा गुडिरहेको रा १ ख ३०४५ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बल्लेखोलाबाट आलु लिएर पोखरातर्फ जाँदै गरेको ट्रक गुडिरहेकै अवस्थामा अचानक सडक भासिँदा झण्डै ३० मिटर तल खसेको थियो।
दुर्घटनामा परी सल्यान बागचौर नगरपालिका–४ दुदिलाबोटका ४७ वर्षीय चन्द्रबहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको छ।
यस्तै, ट्रक चालक दाङ बबई गाउँपालिका–५ जौबारीका ४२ वर्षीय नोखिराम वली घाइते भएका छन्। उनको ढाडमा सामान्य चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस