after_navbar

आधा भन्दा बढी सामुदायिक विद्यालयमा १०० भन्दा कम विद्यार्थी


४ घण्टा अगाडि


काठमाडौ,२८ जेठ । देशभरका १३ हजार ७३६ सामुदायिक विद्यालयमा १०० जनाभन्दा कम विद्यार्थी रहेको तथ्य सार्वजनिक भएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको ‘शैक्षिक सूचना २०८२’ अनुसार यस्तो विद्यालयको संख्या कुल सामुदायिक विद्यालयको ५०.८६ प्रतिशत हो। यसले आधाभन्दा बढी सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून रहेको देखाएको छ।

हाल देशभर ३५ हजार ९५१ विद्यालय छन्। तीमध्ये २५ हजार ६२३ सामुदायिक र ८ हजार ९४१ संस्थागत (निजी) विद्यालय रहेका छन्। सबै विद्यालयमा गरी ७० लाख ४० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

विद्यार्थी संख्या कम भएका विद्यालयलाई एकीकृत गर्ने उद्देश्यले सरकारले विद्यालय समायोजन अभियान सञ्चालन गरिरहेको छ। अहिलेसम्म ६६२ सामुदायिक विद्यालय मर्ज भइसकेका छन्।
चालू आर्थिक वर्षमा समायोजनका लागि ४५ करोड रुपैयाँ प्रोत्साहन रकम विनियोजन गरिएको छ।

आगामी वर्षका लागि सामुदायिक विद्यालयको पूर्वाधार विकासमा १ अर्ब रुपैयाँ छुट्याइएको छ।
शिक्षा मन्त्रालयका प्रवक्ता महेन्द्र पराजुलीका अनुसार विद्यालय व्यवस्थापन स्थानीय तहको जिम्मेवारी भएकाले समायोजनसम्बन्धी विवरण माग गरिएको छ।

यस्तै, प्रधानाध्यापक सङ्घका अध्यक्ष सुदाम गौतमले शिक्षामा सुधारका लागि राष्ट्रिय नीति निर्माण र विद्यालयका लागि स्पष्ट मापदण्ड आवश्यक रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="