दाङ, १० असार। दाङमा एक महिनाको अवधिमा विभिन्न प्रकृतिका आपराधिक गतिविधिसम्बन्धी ८१ वटा मुद्दा दर्ता भएका छन्। दर्ता भएका उजुरीका आधारमा ८९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीका अनुसार दर्ता भएका मुद्दामध्ये २३ वटा फछ्र्योट भएका छन् भने ५८ वटा अनुसन्धान तथा कानुनी प्रक्रियामा रहेका छन्। घटनामा संलग्न १४ जना अझै फरार रहेका छन्।
दर्ता भएका मुद्दामध्ये जघन्य तथा गम्भीर प्रकृतिका १९ वटा, लागुऔषधसम्बन्धी १५ वटा, आर्थिक अपराधसम्बन्धी १३ वटा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी एक वटा तथा अन्य प्रकृतिका ३३ वटा मुद्दा रहेका छन्।
त्यसैगरी, जेठ महिनामा जिल्लाका विभिन्न स्थानबाट ६८ जना फरार प्रतिवादी पक्राउ परेका छन्। अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रहरीले बढाएको सक्रियताका कारण विभिन्न समयमा फैसला भएर फरार रहेका प्रतिवादीहरू पक्राउ गरिएको हो।
पक्राउ परेका प्रतिवादीबाट एक लाख ४५ हजार ५० रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ। उनीहरूमाथि अदालतबाट सुनाइएको १६ वर्ष तीन महिना १५ दिन कैद सजाय कार्यान्वयनका लागि कारागार चलान गरिएको छ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये दुई जना दश वर्षपछि, छ जना पाँच वर्षपछि तथा ६० जना पाँच वर्षभन्दा कम अवधिमा पक्राउ परेका हुन्। लागुऔषध दुव्र्यसन तथा ओसारपसारसम्बन्धी घटनामा २९ जनालाई पक्राउ गरिएको छ।
उनीहरूको साथबाट २१ ग्राम ९५० मिलिग्राम ब्राउन सुगर, ३३ ग्राम ४१० मिलिग्राम गाँजा तथा ४०८ वटा मनोदीपक पदार्थका ट्याब्लेट बरामद गरिएको सूचना अधिकारी केसीले जानकारी दिए।
एक महिनाको अवधिमा घरेलु हिंसासम्बन्धी १६ वटा उजुरी दर्ता भएका छन्। तीमध्ये घरायसी झैझगडाका सात, मादक पदार्थ सेवन गरी गालीगलौजका छ, कुटपिटका चार तथा खाना र बस्न नदिएको तथा विवाह दर्ता नगरेको सम्बन्धी तीन–तीन वटा उजुरी रहेका छन्।
दर्ता भएका उजुरीमध्ये १४ वटा फछ्र्योट भएका छन् भने दुई वटा प्रक्रियामा रहेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रहरी सक्रिय रहेको बताए।
उनका अनुसार सामान्य प्रकृतिका झैझगडा तथा लागुऔषधसम्बन्धी घटना देखिए पनि ठूला प्रकृतिका आपराधिक गतिविधि भने देखिएका छैनन्।
प्रहरीले लागुऔषध नियन्त्रण, अपराध न्यूनीकरण तथा समुदायमा सुरक्षा अनुभूति अभिवृद्धिलाई प्राथमिकतामा राखेर गस्ती, सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै अपराधमा संलग्नलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाउँदै आएको जनाएको
प्रतिक्रिया दिनुहोस