after_navbar

नेपाल-भारतको दोहोरो पहिचान कागजात प्रकरणमा २७ जनाविरुद्ध मुद्दा दर्ता


१२ घण्टा अगाडि


दाङ,२१ असार । भारतको उत्तर प्रदेशस्थित बलरामपुर जिल्लामा भारत र नेपाल दुवै देशका नागरिकता तथा परिचयसम्बन्धी कागजात राखेको आरोपमा २७ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।


सीमावर्ती जरवा थाना क्षेत्रका ती व्यक्तिहरूले भारतीय सरकारी योजनाको समेत लाभ लिएको आरोप रहेको प्रहरीले जनाएको छ। बलरामपुरका प्रहरी प्रमुख (एसपी) विकास कुमारका अनुसार जिल्ला अधिकारी (डीएम) को उजुरीपछि घटनाबारे अनुसन्धान सुरु गरिएको थियो।

जिल्ला प्रशासनको पत्रका आधारमा गरिएको छानबिन प्रतिवेदनपछि उनीहरूमाथि कानुनी कारबाही अघि बढाइएको हो।

अनुसन्धानका क्रममा नेपालको दाङ जिल्लाको कोइलाबास क्षेत्रका केही व्यक्तिले आफूलाई बलरामपुरको विभिन्न स्थानका बासिन्दा देखाउँदै आधार कार्ड, मतदाता परिचयपत्रलगायत अन्य भारतीय कागजात बनाएको पाइएको प्रहरीले जनाएको छ।


भारतीय सञ्चारमाध्यम इन्डियाटिभीका अनुसार ती व्यक्तिहरूको नाम भारत र नेपाल दुवै देशको मतदाता नामावलीमा समेत भेटिएको छ। अनुसन्धानका क्रममा केही व्यक्तिहरू सम्बन्धित स्थानमा नबस्ने र मृत्यु भइसकेका व्यक्तिहरूको नामसमेत सरकारी अभिलेखमा कायम रहेको तथ्य खुलेको छ।


प्रहरीका अनुसार यो प्रकरण पहिचान लुकाउने, सरकारी कागजातको दुरुपयोग गर्ने तथा गलत विवरण दर्ता गराउनेसँग सम्बन्धित छ। जरवा प्रहरीले सम्बन्धित कानुनी धाराअन्तर्गत मुद्दा दर्ता गरी विस्तृत अनुसन्धान अघि बढाएको छ।

प्रहरीले सबै कागजातको प्रमाणीकरण गर्दै सम्बन्धित निकायसँग विवरण मिलाएर थप अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा आवश्यक कानुनी कारबाही गरिने प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="