after_navbar

मध्यपूर्वमा तनाव: मे महिनायता पहिलो पटक कच्चा तेलको मुल्य प्रतिब्यारेल १०० डलर नाघ्यो


१४ घण्टा अगाडि


काठमाडौं, ८ साउन। मध्यपूर्वमा बढेको भूराजनीतिक द्वन्द्व र आपूर्ति शृङ्खलामा देखिएको गम्भीर अवरोधका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको छ। मे महिनापछि पहिलो पटक अन्तर्राष्ट्रिय बेन्चमार्क ‘ब्रेन्ट क्रुड’ को मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलर पुगेको छ।

​अमेरिकाले इरानविरुद्ध सैन्य कारबाहीलाई तीव्रता दिएसँगै बिहीबार मात्रै तेलको मूल्य ६ प्रतिशतभन्दा बढीले उकालो लागेको हो। यसका साथै, यमनका हुथी विद्रोहीहरूले लाल सागरमा तेल ट्याङ्करहरूमाथि आक्रमण गरेर साउदी अरेबियाले होर्मुजको जलडमरूमध्य छल्न प्रयोग गर्दै आएको प्रमुख निर्यात मार्गमा समेत खतरा उत्पन्न गराएपछि विश्व बजारमा ऊर्जा सङ्कटको त्रास फैलिएको छ।

​यसअघि अमेरिका र इरानबीचको अस्थायी युद्धविरामका कारण केही तल झरेको तेलको मूल्य यो साता फेरि आकासिएको छ। फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गर्नुपूर्वको अवस्थामा फर्केको तेलको भाउ, पछिल्लो समय युद्धविराम असफल भएपछि पुनः बढेको हो। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानका शासकहरू सम्झौताका लागि तयार नरहेको बताएपछि तनाव चरम रूपमा चुलिएको छ। तेलसँगै प्राकृतिक ग्यासको मूल्य पनि लगातार बढेको छ। जुन महिनाको अन्त्यमा प्रति ‘थर्म’ करिब ९८ पेन्स रहेको बेलायती बेन्चमार्क ग्यासको मूल्य अहिले बढेर करिब १५० पेन्स पुगेको छ।

​इन्धनको मूल्यमा भएको यो अचानक वृद्धिले बेलायत र अमेरिकासहित विश्वभरका अर्थतन्त्रमा पुनः मुद्रास्फीति भड्किने चिन्ता बढाएको छ। पछिल्लो समय सुस्ताएको महगी जुन महिनामा बेलायतमा २.६ प्रतिशत र अमेरिकामा ३.५ प्रतिशतमा झरिसकेको थियो यो द्वन्द्वका कारण अल्पकालीन नै भए पनि फेरि उकालो लाग्ने आशङ्का गरिएको छ।

​इन्धन महँगिँदा ढुवानी लागत बढ्ने र त्यसको प्रत्यक्ष असर खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्यमा पर्ने निश्चित छ। पछिल्लो तथ्याङ्कअनुसार बेलायतमा पेट्रोलको मूल्य प्रतिलिटर ५ पेन्सले बढेर लगभग १.५६ पाउण्ड पुगेको छ भने डिजेलको औसत मूल्य प्रतिलिटर १.७२ पाउण्ड रहेको छ। त्यस्तै, अमेरिकामा पनि पेट्रोलको औसत मूल्य प्रतिग्यालन ४ डलर नाघेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="