दाङ,२२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसहित ११ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
आयोगले रूकुमपश्चिमको आठबीसकोट नगरपालिकाका नगरप्रमुख रवि केसीसहित ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
दुग्ध सहकारी संस्थालाई कार्यविधिविपरीत अनुदान उपलब्ध गराई राज्यलाई गैरकानुनी हानि पुर्याएको आरोपमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
अनुसन्धानका क्रममा चिस्यान केन्द्र सञ्चालनमा नआउँदै सहकारीलाई ९१ लाख १७ हजार ८७३ रुपैयाँ अनुदान तथा ८० लाख २३ हजार ५१ रुपैयाँ बराबरको मिल्क ट्याङ्कर र दुईवटा गाडी उपलब्ध गराइएको, तर ती साधनसमेत प्रयोगविहीन रहेको पाइएको आयोगको भनाइ छ।
आयोगले नगरप्रमुख केसी र प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहविरुद्ध ८० लाख २३ हजार ५१ रुपैयाँ बिगो दाबी गरेको छ।
साथै, तत्कालीन सरकारी कर्मचारी र आठबीसकोट दुग्ध सहकारी संस्थाका पदाधिकारीविरुद्ध पनि मुख्य कसुरदारसरह कैद, जरिवाना र बिगो असुलउपरको मागसहित मुद्दा दायर गरिएको छ।
प्रतिक्रिया दिनुहोस