after_navbar

सुरसरी र सप्तरी प्रदर्शनमा मृत्यु भएका ४ जनालाई शहीद घोषणा गर्ने


२३ घण्टा अगाडि


काठमाडौ,२६ साउन । सरकारले सुनसरी र सिरहामा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्रकुमार मेहता तथा सिरहाका गणेशकुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

साउन १० गते साँझ सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको झडपमा ओमप्रकाशको घटनास्थलमै तथा जयप्रकाश र रविन्द्रकुमारको उपचारका क्रममा मृत्यु भएको थियो। सुनसरीको घटनापछि विभिन्न जिल्लामा फैलिएको तनावका क्रममा साउन ११ गते सिरहाको गोलबजारमा भएको झडपमा गणेशकुमार यादवको मृत्यु भएको थियो।

त्यस्तै, सरकारले नेपालमा आयात वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शववाहनमा लाग्ने कर छुट दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्ले त्यस्ता सवारीसाधनमा स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) पूर्णरूपमा छुट दिने निर्णय गरेको हो।

बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद-बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ।

यसैगरी, वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा बाराका निर्मलकुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय भएको मन्त्री पोखरेलले जानकारी दिए। सरकारले पोर्चुगल सरकारलाई काठमाडौंमा काउन्सिलर कार्यालय खोल्न सहमति दिने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="