after_navbar

देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न


११ घण्टा अगाडि


दाङ,७ भदौ । देशभर धान रोपाइँ लगभग सकिएको छ। गतवर्षको तुलनामा यसवर्ष धान रोपाइँको २ प्रतिशतले वृद्धि भएको छ । कृषि विभागका अनुसार हालसम्म धानखेती हुने कुल क्षेत्रफलको ९८ प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ।

विभागको तथ्याङ्कअनुसार देशभर १३ लाख ४१ हजार ७६४ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ। गत वर्ष यही अवधिसम्म ९६ दशमलव ०८ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ भएको थियो। यस वर्ष गत वर्षको तुलनामा करिब २ प्रतिशत बढी क्षेत्रमा रोपाइँ सम्पन्न भएको हो।

प्रदेशगत रूपमा सुदूरपश्चिममा शतप्रतिशत रोपाइँ सकिएको छ। त्यहाँ १ लाख ५४ हजार ९५० हेक्टरमा धान रोपिएको विभागले जनाएको छ।

यस्तै, कर्णालीमा ९८ दशमलव ५०, मधेशमा ९८ दशमलव १०, लुम्बिनीमा ९७ दशमलव ८७, बागमतीमा ९७ दशमलव ८२, कोशीमा ९७ र गण्डकीमा ९६ दशमलव ६८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ।

मधेशमा भने गत वर्षको तुलनामा यस वर्ष रोपाइँको दर उल्लेख्य बढेको छ। गत वर्ष यही अवधिमा मधेशमा ८६ दशमलव ३५ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ भएको थियो।

समयमै मनसुन सक्रिय हुनु र कृषि प्रसारसम्बन्धी गतिविधि प्रभावकारी हुनुका कारण यस वर्ष धान रोपाइँको गति बढेको कृषि विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="