after_navbar

कुटपिटबाट घाइते औषधि व्यवसायीको मृत्युः पाँच जना पक्राउ


५ घण्टा अगाडि


दाङ,१ भदौ । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जना युवालाई पक्राउ गरेको छ।

दैलेखको नारायण नगरपालिका-२ स्थायी घर भई जाजरकोटको भेरी नगरपालिका–११ जगतिपुरमा औषधि पसल सञ्चालन गर्दै आएका ३२ वर्षीय दीपककुमार थापामाथि साउन २५ गते युवाको समूहले कुटपिट गरेको थियो।

कुटपिटबाट घाइते थापाको रुकुम पश्चिमको चौरजहारीस्थित मिसन अस्पतालमा उपचार गरिएको थियो। अवस्था गम्भीर भएपछि थप उपचारका लागि बाँकेको नेपालगञ्जस्थित केयर सिटी अस्पतालमा लगिएको थियो। उनको उपचारका क्रममा साउन २८ गते बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा साउन २९ गते पाँच जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भेरी नगरपालिका-८ का ३३ वर्षीय वीरेन्द्र खत्री, भेरी-९ का २९ वर्षीय निरज रोकाया, सोही वडाका २१ वर्षीय शिशिर योगी गोसाईं, २४ वर्षीय लक्ष्मण रोकाया र २८ वर्षीय विनोद गोसाईं रहेका छन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक सुधीरकुमार खड्काका अनुसार पक्राउ परेकाहरूमाथि घटनाबारे थप अनुसन्धान भइरहेको छ।

पक्राउ परेका पाँचै जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत जाजरकोटले १० दिनको म्याद दिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="