after_navbar

पहिरोले कर्णाली करिडोर अवरुद्ध


१ घण्टा अगाडि


बाजुरा,२० भदौ । गएरातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली करिडोर सडकखण्ड अवरुद्ध भएको छ।

बाजुराको जगन्नाथ गाउँपालिका-५ भुकाह खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार हिमाली गाउँपालिका-७ बाधु र जगन्नाथ गाउँपालिका-५ मा पहिरो खसेर सडक अवरुद्ध भएको थियो।

बाधुमा खसेको पहिरो पिएस कन्स्ट्रक्सनको जेसिबी प्रयोग गरी हटाएर सडक सञ्चालनमा ल्याइए पनि भुकाह खोलामा पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको भाटले बताए।

सडक अवरोध हटाउन प्रहरीचौकी जुड्डीबाट प्रहरी सहायक निरीक्षक रमेश रावलको नेतृत्वमा तीन जना प्रहरीको टोली घटनास्थलमा खटिएको छ। अहिले जगन्नाथ गाउँपालिकाको जेसिबी प्रयोग गरी पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

सडक अवरुद्ध भएपछि गन्तव्यतर्फ जाने सवारीसाधन बाटोमै रोकिएका छन्। लगातारको वर्षाका कारण कर्णाली करिडोरका विभिन्न स्थानमा पहिरोको जोखिम बढेकाले यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="