after_navbar

पहिरोको जोखिम बढेपछि १० परिवारको स्थानान्तरण


२ घण्टा अगाडि


दैलेख,२३ भदौ । पहिरोको जोखिम बढेपछि दैलेखमा १० घर परिवारलाई स्थानान्तरण गरिएको छ। जिल्लाको सदरमुकाम नारायण नगरपालिका-१ स्थित नमुना बस्तीमा पहिरोका कारण जोखिममा परेका १० परिवारलाई अस्थायी रूपमा सुरक्षित स्थानमा सारिएको हो।

एक सातादेखि परेको अविरल वर्षाका कारण बस्तीमा पहिरो आएपछि घरमा क्षति पुगेको र थप जोखिम बढेपछि प्रहरीले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी १० परिवारका ४४ जनालाई सदरमुकामस्थित तरकारी सङ्कलन केन्द्रको नयाँ भवनमा स्थानान्तरण गरेको हो।

जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्न स्थानीयवासी र प्रहरीले सहयोग गरेका थिए। तत्कालका लागि उनीहरूलाई रातिको समयमा मात्रै सुरक्षित स्थानमा राख्ने व्यवस्था गरिएको नारायण नगरपालिका-१ का वडाध्यक्ष शैलेस श्रेष्ठले बताए।

स्थानान्तरण गरिएका परिवारमा आरती बादीका ६, ममता बादीका ५, अन्जु बादीका ४, रामकुमारी बादीका ४, गणेश बादीका ३, कौशिला नेपालीका ३, हिरा बादीका ७ र बालकुमारी सुनारका ५ जना छन्। पहिरोकै कारण अन्य दुई परिवारसमेत थप विस्थापित भएको जनाइएको छ।

पहिरोका कारण बस्तीका केही घरमा भौतिक क्षति पुगेपछि थप जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउँदै परिवारलाई अस्थायी रूपमा सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।

विस्थापित १० परिवारलाई दैलेख क्षेत्र नम्बर १ की सांसद वासना थापाले खाद्यान्नलगायत तत्काल आवश्यक दैनिक उपभोग्य सामग्री सहयोग गरेकी छन्।

यसैबीच, नारायण नगरपालिका-१ कुइकानास्थित रातामाटामा खड्के नेपालीको दुईतले कच्ची घर भत्किँदा १६ जना विस्थापित भएका छन्। उनीहरूलाई समेत सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="