after_navbar

नेपाली पत्रकारिताको साख कमजोर हुँदै गएको छः सञ्चारमन्त्री तिमिल्सिना


१ घण्टा अगाडि


काठमाडौ।सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाली पत्रकारिता क्षेत्रको साख कमजोर हुँदै गएको बताएका छन्। बुधबार काठमाडौमा आयोजित एक कार्यक्रममा पत्रकारहरुसंगको कुराकानीमा मन्त्री तिमिल्सिनाले पछिल्लो समय नेपाली पत्रकारिताको व्यावसायिकता र निष्पक्षतामाथि प्रश्न उठ्ने गरेको बताएका हुन्।

पत्रकारिताको गरिमा र साख जोगाउने मुख्य जिम्मेवारी प्रत्येक पत्रकार स्वयंको रहेको उनले बताए। नेपाल पत्रकार महासङ्घप्रति लक्षित गर्दै उनले कुनै अमुक संस्थाले पत्रकारिताको ठेक्का लिएर हिँडेझैँ गरे पनि यस क्षेत्रको प्रभावकारी संरक्षण हुन नसकेको आरोप लगाए।

पत्रकारिता क्षेत्रमा विद्यमान बेथिति र समस्या सुधारका लागि आफूले सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै गम्भीर भएर काम गरिरहेको उनको दाबी थियो।

अरबौँ रुपैयाँ बराबरको पूर्वाधार र सम्पत्ति भएका सरकारी तथा सार्वजनिक संस्थाहरूले समेत आफ्ना कर्मचारीलाई पेन्सन तथा सेवा सुविधा दिन नसक्नु दुःखद रहेको उनले बताए।

समारोहमा बोल्दै मन्त्री तिमिल्सिनाले भने, -‘पत्रकारिता आफैँमा एउटा संस्था हो र हरेक दिनको कामले यसको साख बढाएको छ कि कमजोर बनाएको छ भन्ने सोच्ने जिम्मेवारी प्रत्येक पत्रकारको हो। मञ्च पाउनेबित्तिकै आलोचना र घोचपेच गर्ने शैलीले पत्रकारिता उकासिने भए आज रेडियो नेपाल, नेपाल टेलिभिजन र गोरखापत्रको हालत यस्तो हुने थिएन। आज पत्रकारको सुरक्षा, व्यावसायिकता र भविष्यमाथि नै ठूलो प्रश्नचिह्न खडा भएको छ।’

सरकारी तथा सार्वजनिक सञ्चारमाध्यमहरूको इतिहास गर्विलो रहे पनि तिनलाई कमजोर बनाइएको र वर्षौँदेखि लेखापरीक्षणसमेत हुन नसकेको उनले बताए।

समस्याको सतहमै सीमित हुनुभन्दा यसको भित्री जरोसम्म पुगेर विगतका गलत निर्णय र अभ्यासलाई सच्याउनुपर्नेमा उनले जोड दिए। केही वर्ष निर्मम भएर मिहिनेत गरेमा सुधार सम्भव रहेको बताउँदै उनले सार्वजनिक सञ्चार संस्था र समग्र पत्रकारिता क्षेत्रलाई गर्व गर्न लायक बनाएरै छाड्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया दिनुहोस

data-href="