डोल्पा । डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरणका क्रममा दुर्घटनामा परेको छ। नेपालगन्जबाट उडेको ९एन-एजेएच जहाज बिहान ८ः२५ बजे अवतरण गर्ने क्रममा रनवेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
प्रहरीका अनुसार अवतरणका क्रममा जहाजको पछाडिपट्टिको दायाँ चक्का बाहिर निस्किएपछि जहाज केही पर उछिट्टिएको थियो। पाइलटले तत्काल इन्जिन बन्द गरेपछि सम्भावित आगलागीबाट जहाज जोगिएको जनाइएको छ।
दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। जहाज अहिले पनि रनवेमै रहेको छ।
प्रतिक्रिया दिनुहोस