after_navbar

राप्ती नदीको तटीय क्षेत्रमा नजान आग्रह


३ मिनेट अगाडि


दाङ। भारी वर्षाको सम्भावना रहेपछि दाङको देउखुरीस्थित राप्ती नदीको तटीय क्षेत्रमा नजान सशस्त्र प्रहरीले माइकिङमार्फत सर्वसाधारणलाई आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेपछि सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रमा सतर्कता बढाएको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ हेडक्वार्टर ज्वालामाई गण, भालुवाङबाट खटिएको टोलीले राप्ती नदीको तटीय क्षेत्रमा पुगेर माइकिङ गर्दै नदी किनारमा नजान, जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित ठाउँमा रहन आग्रह गरेको गणका प्रमुख एसपी यदु कार्कीले जानकारी दिए।

उनका अनुसार डिएसपी बाबुराम थापाको नेतृत्वमा खटिएको टोलीले नदी आसपासका क्षेत्रमा सचेतनामूलक माइकिङ गरेको हो। नदीमा पानीको बहाव बढेमा, पानी धमिलो भएमा, ढुंगा तथा रूख बगाउँदै आएको देखिएमा वा असामान्य आवाज सुनिएमा तत्काल अग्लो र सुरक्षित स्थानमा जान प्रहरीले आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय दाङले पनि बाढी, पहिरो, डुबान तथा कटानको जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकाय, स्थानीय तह र सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेका अनुसार अत्यावश्यक कामबाहेक टाढाको तथा रातिको यात्रा नगर्न, जोखिमयुक्त क्षेत्रमा नजान र जोखिममा रहेका महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरिएको छ। राप्ती, बबईलगायत जिल्लाका विभिन्न नदी तथा जोखिमयुक्त क्षेत्रको पहिचान गरी आवश्यक सतर्कता अपनाइएको प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="