दाङ। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले मंसिर १ गतेदेखि विद्युत् महसुल बुझाउने भौतिक काउन्टर बन्द गर्ने भएको छ। त्यसपछि विद्युत् महसुल अनलाइनबाट मात्रै भुक्तानी गर्नुपर्नेछ।
वितरण केन्द्रका प्रमुख सुरेशकुमार महतोका अनुसार नेपाल सरकारको डिजिटल नेपालको अवधारणा र प्राधिकरणको नीति तथा निर्देशनअनुसार अनलाइन भुक्तानीलाई अनिवार्य गर्न लागिएको हो। ग्राहकले २४ घण्टा घरबाटै महसुल तिर्न सक्ने व्यवस्था गरिनेछ।
हाल तुलसीपुर वितरण केन्द्रअन्तर्गत करिब ५५ हजार ग्राहक छन्। तीमध्ये ४२ प्रतिशतले अनलाइनबाटै महसुल भुक्तानी गरिरहेको महतोले बताए।
विद्युत् प्राधिकरणको एपसँगै इसेवा, खल्ती, एनसीएचएल तथा मोबाइल बैंकिङमार्फत महसुल तिर्न सकिनेछ। पाँच सय रुपैयाँसम्मको महसुल अनलाइन तिर्दा अतिरिक्त शुल्क नलाग्ने र त्यसभन्दा बढीमा न्यूनतम शुल्क लाग्ने जनाइएको छ।
डिजिटल भुक्तानीबारे जानकारी दिन प्राधिकरणले विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै कार्यालयमा आउने ग्राहकलाई पम्प्लेट वितरण गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस