जाजरकोट । जाजरकोटमा ससुराको हत्या गरेको आरोपमा बुहारी दुई महिनापछि पक्राउ परेकी छन्।
जुनीचाँदे गाउँपालिका-५ पाँगाका ७५ वर्षीय गंगाराम शाही साउन ११ गते आफ्नै घरको सिँढीमा मृत अवस्थामा भेटिएका थिए। उनको घाँटीमा खुर्पा प्रहार भएको थियो।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले गंगारामकी माइली बुहारी शर्मिला शाहीमाथि सुरुदेखि नै आशंका गरेको थियो। उनको कपडामा भेटिएको रगतको परीक्षण गर्दा मानिसको रगत भएको पुष्टि भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार करिब दुई महिनाको अनुसन्धानपछि गंगारामको हत्या शर्मिलाले नै गरेको खुलेको हो। घटनाका बेला घरमा ससुरा र बुहारी मात्रै रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा शर्मिलाले ससुराले आफूलाई यौन दुर्व्यवहारको प्रयास गरेपछि आवेगमा आएर घरमै रहेको खुर्पा प्रहार गरेको बयान दिएकी छन्। यसअघि पनि ससुराबाट दुर्व्यवहारको प्रयास भएको उनको बयान रहेको प्रहरीले जनाएको छ।
गंगारामका जेठा छोरा राजकुमार शाहीले असोज ७ गते शर्मिलाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी जाहेरी दिएका थिए। त्यसको भोलिपल्ट प्रहरीले शर्मिलालाई घरबाट पक्राउ गरेको हो।
शर्मिलालाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत दैलेखले अनुमति दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस