काठमाडौ, दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको फ्लाई दुबईको विमानमा दुई पाइलटबीच कुटाकुट भएको छ। विमानमा करिब १८० जना इजरायली यात्रु सवार थिए।
बीबीसी हिन्दीका अनुसार ३४ हजार फिटको उचाइमा पाइलटहरूबीच झडप भएपछि विमान दुई मिनेटमै १६ हजार ६ सय फिटमा झरेको थियो। त्यसपछि विमानबाट आपत्कालीन संकेत पठाइएको थियो।
विमानबाट हाइज्याकिङ वा नियन्त्रणमा अवैध हस्तक्षेप भएको संकेतसमेत पठाइएपछि मध्यपूर्वका सुरक्षा निकाय सतर्क भएका थिए। इजरायलले पनि आफ्नो वायुसेनाको सतर्कता बढाएको थियो।
साउदी अरबको आकाशमा विमानको दिशा परिवर्तन गरी करिब सात मिनेट आपत्कालीन संकेत जारी गरिएको थियो। त्यसपछि विमानलाई साउदी अरबतर्फ मोडेर सुरक्षित अवतरण गराइएको जनाइएको छ।
फ्लाई दुबईले घटनाको पुष्टि गर्दै झडपमा संलग्न पाइलटलाई निलम्बन गरी अनुसन्धान अघि बढाइएको जनाएको छ। घटनामा ठूलो दुर्घटना हुनबाट जोगिएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस