रुकुम पश्चिम। रुकुम पश्चिममा एक जनप्रतिनिधि पक्राउ परेका छन् । जिल्लाको आठबिसकोट नगरपालिका-३ का ३६ वर्षीय वडाध्यक्ष केशरमान विक पक्राउ परेका हुन् । राष्ट्रसेवक कर्मचारीलाई कर्तव्य पालनामा बाधा पुर्याएको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।
प्रहरीका अनुसार आठबिसकोट-३ का ३३ वर्षीय गोपाल विक भनिने वीरेन्द्रविरुद्ध अभद्र व्यवहारसम्बन्धी जाहेरी परेको थियो। सोही आधारमा मुसिकोट नगरपालिका-१ खलंगामा उनलाई पक्राउ गर्न खोज्दा वडाध्यक्ष विकले प्रहरीसँग विवाद गर्नुका साथै गालीगलौज र हातपात गरेको प्रहरीको दाबी छ। आफ्ना भाइ नाता पर्ने गोपाललाई भगाउन खोज्दै ड्युटीमा खटिएका प्रहरीलाई कर्तव्य पालनामा बाधा पुर्याएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
विकलाई राष्ट्रसेवक कर्मचारीलाई कर्तव्य पालनामा बाधा पुर्याएको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट तीन दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, नेपाली कम्युनिष्ट पार्टी रुकुम पश्चिमले भने वडाध्यक्ष विकलाई प्रहरीले हिरासतमा कुटपिट गरेको आरोप लगाएको छ। पार्टी जिल्ला संयोजक गोविन्द रोका र सहसंयोजक सुरज परियारले जारी गरेको विज्ञप्तिमा वडाध्यक्ष विकलाई वडासम्बन्धी विषयमा छलफल गर्न भन्दै जिल्ला प्रहरी कार्यालयमा बोलाएर पक्राउ पुर्जीबिनै हत्कडी लगाई कुटपिट गरिएको दाबी गरिएको छ।
विज्ञप्तिमा कुटपिटबाट विकको टाउको, अनुहार र घाँटीमा चोट लागेको उल्लेख छ। पार्टीले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ। प्रहरीले भने विकमाथि लागेको आरोपबारे अनुसन्धान भइरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस