दाङ । तुलसीपुर उपमहानगरपालिका-७ का विभिन्न स्थानमा विद्युत् सेवा विस्तार तथा पुराना पोल र तार मर्मतको काम तीव्र पारिएको छ।
वडा कार्यालयका अनुसार तमाखेदेखि खर्च वडा कार्यालयसम्म करिब ३० वर्ष पुराना विद्युत्का तार र पोल हटाएर नयाँ संरचना निर्माण गरिएको छ। त्यस्तै, राजापुर क्षेत्रमा पोल स्थानान्तरण गरिएको छ भने बम्नै–ढिकपुर टोलमा नयाँ पोल तथा तार विस्तार गरिएको छ।
वडाध्यक्ष रामबहादुर जिसीका अनुसार पछिल्लो तीन वर्षमा वडाका विभिन्न टोलमा विद्युत् विस्तार, पुराना पोल तथा तारको मर्मत र अन्य पूर्वाधार सुधारका काम गरिएको छ। जीर्ण संरचनाका कारण विद्युत् सेवामा समस्या र जोखिम बढ्ने अवस्थालाई ध्यानमा राखेर काम अघि बढाइएको उनले बताए।
नयाँ पोल र तार विस्तार तथा मर्मतपछि विद्युत् सेवा सुरक्षित र सहज भएको स्थानीयवासीले बताएका छन्। स्थानीयको आवश्यकता र मागअनुसार विद्युत् सेवा सुधारलाई प्राथमिकता दिइएको वडाध्यक्ष जिसीले बताए।
उनले विद्युत् पूर्वाधार सुधारमा सहयोग र समन्वय गरेको नेपाल विद्युत् प्राधिकरण तुलसीपुर वितरण केन्द्र, कर्मचारी तथा अन्य सरोकारवालालाई धन्यवाद समेत दिए। वडाका सबै बस्तीमा सुरक्षित, भरपर्दो र नियमित विद्युत् सेवा पुर्याउने लक्ष्यसहित काम भइरहेको वडा कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस