दाङ। दाङको तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। वडा नम्बर १५, १६ र १८ लाई लक्षित गरी तुलसीपुर–१९ बिजौरीस्थित उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम गरिएको हो।
नगरप्रमुख टीकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख स्यानी चौधरी र प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र सिवाकोटीको विशिष्ट उपस्थिति थियो। नगर प्रवक्ता तथा वडा नम्बर १८ का अध्यक्ष माधव वलीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
वलीले नागरिकका गुनासा र अपेक्षा सुन्न, कामकारबाहीमा पारदर्शिता ल्याउन तथा सुशासन कायम गर्न सार्वजनिक सुनुवाइ महत्त्वपूर्ण हुने बताए। सुशासन नारामा मात्र सीमित नभई व्यवहारमा कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै उनले सरकार र नागरिकबीचको सम्बन्ध बलियो बनाउनुपर्ने बताए।
कार्यक्रममा रमा खड्काले उपमहानगरपालिकाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले मानवीय विकासबिना भौतिक विकासले सार्थकता पाउन नसक्ने बताए।
उपमहानगरपालिकाको आयोजना तथा बास नेपालको सहजीकरणमा भएको कार्यक्रममा १९ वटै वडाका अध्यक्ष, विभिन्न शाखाका प्रमुख, सरोकारवाला तथा स्थानीयवासीको सहभागिता थियो। कार्यक्रमको सहजीकरण रमा खड्काले गरेकी थिइन्।
प्रतिक्रिया दिनुहोस