दाङ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत मर्यादा सुनिश्चित गर्न नयाँ निर्देशिका जारी गरेको छ।
मन्त्रालयले जारी गरेको ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ मा प्रसूति सेवाका क्रममा पर्दा वा छेकबारको व्यवस्था गरी आमाको गोपनीयता कायम गर्नुपर्ने उल्लेख छ। एउटै कक्षमा एकभन्दा बढी सुत्केरी राखिएको अवस्थामा पनि प्रत्येक आमाको गोपनीयता सुनिश्चित गर्नुपर्नेछ।
निर्देशिकाले प्रसवका क्रममा आमाले रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था, जन्मिएपछि नवजात शिशुलाई आमासँगै राख्ने र सकेसम्म छिटो स्तनपान गराउने विषयलाई समेत प्राथमिकता दिएको छ।
त्यस्तै, सुत्केरी आमा र नवजात शिशु घर फर्किएपछि आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउन स्वास्थ्य संस्थाले सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था गरिएको छ।
यसअघि २०७३ को निर्देशिकाअनुसार सञ्चालन हुँदै आएको कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले नयाँ निर्देशिका जारी गरिएको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस