after_navbar

११ हजारभन्दा बढी स्क्रब टाइफस संक्रमित:दाङमा ६५८ जना


० मिनेट अगाडि


काठमाडौ। नेपालमा यस वर्ष स्क्रब टाइफसको संक्रमण व्यापक रूपमा फैलिएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० का अनुसार जनवरीदेखि हालसम्म देशभर ११ हजार २२६ जनामा संक्रमण पुष्टि भएको छ। ७४ जिल्लामा फैलिएको यस रोगबाट ६ जनाको मृत्यु भएको छ।

ईडीसीडीको तथ्याङ्कअनुसार वर्षायामको अन्त्यतिर स्क्रब टाइफसका बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढेको देखिन्छ। अगस्ट र सेप्टेम्बर महिनामा संक्रमण तीव्र बनेको थियो। सेप्टेम्बरमा मात्रै २ हजार ९३८ जना नयाँ संक्रमित थपिएका थिए।

प्रदेशगत विवरणअनुसार लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै ३ हजार ६६ जनामा संक्रमण देखिएको छ। यो कुल संक्रमितको २७.८ प्रतिशत हो। सुदूरपश्चिम प्रदेशमा २ हजार ११३ जना (१९.१ प्रतिशत) र गण्डकी प्रदेशमा २ हजार ४१ जना (१८.५ प्रतिशत) संक्रमित भएका छन्।

त्यसैगरी बागमती प्रदेशमा १ हजार ३७३ (१२.४ प्रतिशत), कोशी प्रदेशमा १ हजार २४३ (११.३ प्रतिशत), कर्णाली प्रदेशमा ९२७ (८.४ प्रतिशत)र मधेश प्रदेशमा २७७ जना (२.५ प्रतिशत) संक्रमित भएको विवरणमा उल्लेख छ।

जिल्लागत तथ्याङ्कमा दाङ सबैभन्दा बढी प्रभावित देखिएको छ। दाङमा ६५८ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै स्याङ्जामा ५६५, सङ्खुवासभामा ५०५, सल्यानमा ४९१, बझाङमा ४६३, पाल्पामा ४२३, धादिङमा ३९९, रोल्पामा ३७७, बर्दियामा ३५६ र दार्चुलामा ३४८ जनामा संक्रमण देखिएको छ।

स्क्रब टाइफस ओरिएन्टिया सुसुगामुसी नामक जीवाणुबाट हुने संक्रमण हो। संक्रमित माइट ९झुसिलकिराजस्तो सूक्ष्म कीट० को लार्भाले टोकेपछि यो रोग सर्छ। यस्ता कीट प्रायः झाडी, घाँस तथा खेतबारी भएका क्षेत्रमा पाइन्छन्। त्यसैले खेतबारीमा काम गर्ने, घाँस काट्ने वा वनजंगल तथा झाडीमा जाने व्यक्तिमा संक्रमणको जोखिम बढी हुन्छ। यो रोग मानिसबाट मानिसमा भने सर्दैन।

यसका प्रमुख लक्षणमा अचानक उच्च ज्वरो आउनु, टाउको तथा शरीर दुख्नु र अत्यधिक थकान महसुस हुनु पर्छन्। माइटले टोकेको ठाउँमा घाउ वा कालो पाप्रो देखिन सक्छ। कतिपय बिरामीमा शरीरमा रातो बिमिरा आउने र घाँटी वरिपरिका लिम्फ ग्रन्थि सुन्निने लक्षण पनि देखिन सक्छन्।

समयमै पहिचान र उपचार नभए स्क्रब टाइफसले फोक्सो, मिर्गौला तथा मस्तिष्कजस्ता महत्त्वपूर्ण अंगमा असर पुर्‍याउन सक्छ। गम्भीर अवस्थामा श्वासप्रश्वासमा समस्या देखिने, मिर्गौलाले काम गर्न छाड्ने र ज्यानसमेत जाने जोखिम हुन्छ। त्यसैले उच्च ज्वरो वा अन्य लक्षण देखिएमा स्वास्थ्य संस्थामा गई जाँच गराउनुपर्छ। चिकित्सकको सल्लाहअनुसार रगत परीक्षणलगायतका जाँचबाट संक्रमण पहिचान गर्न सकिन्छ। समयमै पहिचान भएमा उपयुक्त एन्टिबायोटिक औषधिबाट यसको उपचार गर्न सकिन्छ।

स्क्रब टाइफसबाट बच्न खेतबारी, घाँसे मैदान, वनजंगल वा झाडीमा जाँदा शरीर ढाक्ने पूरा बाहुलाको कपडा र जुत्ता लगाउनुपर्छ। सम्भव भएसम्म झाडी तथा घाँसमा सीधा सम्पर्कबाट बच्नुपर्छ र खुला ठाउँमा सुत्नु हुँदैन। संक्रमणको आशंका भएमा ढिलाइ नगरी स्वास्थ्यकर्मीसँग परामर्श लिनु आवश्यक छ।

प्रतिक्रिया दिनुहोस

data-href="