काठमाडौं ,१९ मंसिर ।दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले असाधारण तर अल्पकालीन सैनिक शासन लागू गरेसँगै बुधबार सियोलले विश्वको ध्यान खिचेको छ।
युनले असाधारण सैनिक शासनको घोषणा गरेसँगै हजारौँ प्रदर्शनकारी सडकमा उत्रिए र राष्ट्रपतिलाई निर्णय फिर्ता लिन बाध्य बनाए। विपक्षीले बुधबार राष्ट्रपतिविरूद्ध महाभियोग लगाउने प्रस्ताव गरेका छन्।
चार दशकभन्दा बढी समयपछि पहिलोपटक नागरिक शासन निलम्बन गर्ने युनको आश्चर्यजनक प्रयासले दक्षिण कोरियालाई गहिरो उथलपुथलमा तानेको हो। कदमले सियोलका निकट सहयोगीहरूलाई चिन्तितसमेत बनाएको छ।
सन् २०२२ मा राष्ट्रपतिमा निर्वाचित भएका परम्परावादी राजनीतिज्ञ तथा पूर्व सरकारी वकिल युनको भविष्य अहिले निकै अनिश्चित बनेको छ।
दक्षिण कोरियाका विपक्षी दलले बुधबार युनलाई महाभियोग लगाउने प्रस्ताव दर्ता गराएका छन्।
प्रतिक्रिया दिनुहोस