after_navbar

प्रथम विष्णु केसी मेमोरियल मुटकोर्ट: विद्यार्थीको न्याय सम्पादन अभ्यास


माघ १६, २०८१


दाङ,१६ माघ। तुलसीपुरमा सम्पन्न प्रथम विष्णु केसी मेमोरियल मुटकोर्ट प्रतियोगिता भएको छ ।

कानुन संकायमा अध्ययनरत विद्यार्थीहरुले गरेको न्यायालयको वास्तविक प्रक्रियाको अभ्यास गरेका छन । उनीहरुले न्याय अब मर्ने छैन भन्ने कुराको आभास भएको बताए।

प्रतियोगितामा विद्यार्थीहरूले एक मुद्दालाई लिएर वादी (अभियोजन) र प्रतिवादी (रक्षा) पक्षको रूपमा तर्क प्रस्तुत गरे। उनीहरूको कानूनी अनुसन्धान, प्रमाणहरू प्रस्तुति, र अदालतमा तर्क प्रस्तुत गरे ।

उक्त प्रस्तुतिले न्यायिक उपभोक्ताहरुप्रती नया आशा पलाएको कार्यक्रममा उपस्थित सहभागीहरुले बताए। उनीहरुले भने “न्याय अब केवल किताबमा सीमित रहने छैन, अब न्यायले न्याय पाउनेछ!”

तुलसीपुर मेट्रो कलेजको आयोजना तथा गणेश पाउरोटी उद्योगको सहयोगमा प्रतियोगिता सन्चालन भएको थियो। लुम्बिनी प्रदेशका विभिन्न क्याम्पसमा कानुन संकायमा अध्य्यनरत विद्यार्थीहरुविच उक्त प्रतिस्पर्धा गराइएको हो ।

विद्यार्थीहरुको अदालती प्रस्तुतिले इच्छाशक्ति भए दक्ष जनशक्ति उत्पादनको संभावना देशभित्रै छ भन्ने कुराको प्रमाणित भएको कलेजका संस्थापक अध्यक्ष घनश्याम पाण्डेले बताए । उनले भने “पढनकै लागि बाहिर जानुपर्छ भन्ने भाष्य गलत साबित भएको छ। अब न्याय मर्ने छैन,नया आशा जगाएको छ”

पूर्व न्याय परिषद् सदस्य पदम मोहन वैद्यले विद्यार्थीहरूको प्रस्तुतिको प्रशंसा गरे। कानुनमा अभ्यस्त नहुँदा कानुनलाई दोष दिने र व्यवहार शैली अपुरो हुने परिपाटीको अन्त्य गर्न यस्ता खाले अभ्यासहरू महत्वपूर्ण हुने उनको भनाइ थियो ।

“कानुन अपुरो छैन, तर व्यवहारिक शैली अपुरो हुँदा कानुनलाई दोष दिने प्रवृत्ति रहेको छ। यस्ता अभ्यासहरू निरन्तर हुन सके न्यायिक उपभोक्ताहरू सन्तुष्ट हुनेछन्।”

नेपाल पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष बिपुल पोखरेलले न्याय टाढा छैन भन्ने आभास आफूले गरेको बताए । वकिलले न्याय र पत्रकारले आवाज बोक्नुपर्ने भन्दै न्यायिक क्षेत्रको गरिमा बढाउन आग्रह गरे

।उनले भने “पत्रकारले आवाज बोक्ने हो, वकिलले न्याय बोक्ने हो। प्रतियोगिताले न्याय टाढा छैन भन्ने अनुभूति दिलाएको छ।”

पत्रकार सुदीप गौतमले प्रतियोगितालाई कानूनी दक्ष जनशक्ति उत्पादनको आधार भएको बताए।उनले भने, “पढ्ने, सुन्ने, बुझ्ने, प्रस्तुत गर्ने कला यसमा जोडिएको छ। प्रमाणपत्र मात्र होइन, व्यवहारिक रूपमा कानूनी अभ्यास गर्न आवश्यक छ।”

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख अनिल सिंह ठकुरीले विद्यार्थीहरूले प्रस्तुत गरेका घटनाका मुजुल्का (केस फाइल) र अनुसन्धान अत्यन्त उत्कृष्ट भएको बताए।

उनले भने, “विद्यार्थीहरूको अनुसन्धानको गहिराइ र प्रस्तुत गर्ने तरिका हेर्दा कानूनी प्रक्रियाप्रति उनीहरूको समझ निकै परिपक्व छ। यस्ता अभ्यासले कानूनी ज्ञानमात्रै होइन, निष्पक्ष अनुसन्धान र न्यायिक प्रक्रियामा नागरिकको विश्वास बढाउन मद्दत गर्छ।”

तुलसीपुर उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष बिमल रिजालले कार्यक्रमपछि न्यायप्रतिको नयाँ आशा पलाएको बताए।

उनका अनुसार, “तुलसीपुरमा पहिलो पटक यस्तो मुटकोर्ट आयोजना हुनु र विद्यार्थीहरूले न्यायिक प्रक्रियालाई गम्भीर रूपमा अभ्यास गर्नु महत्वपूर्ण छ। यसले भविष्यमा कानूनी सचेत नागरिक र सक्षम कानूनी व्यवसायी उत्पादन गर्न मद्दत गर्छ।”

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा गणेश पाउरोटी उद्योगका संचालक विनिल केसीले न्यायीक क्षेत्रको दक्षताका लागि आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्द्ता व्यक्त गरे।

प्रतियोगिता तुलसीपुरका पुराना व्यवसायिक क्षेत्रमा योगदान दिएका स्व. विष्णु केसीको सम्झनामा आयोजना गरिएको थियो।

न्यायिक चेतनाको विकासका लागि कार्यक्रम सन्चालन गरिएको मेट्रो कलेजका कलेज प्रमुख वसन्त आचार्यले बताए।

प्रतियोगिताले कानूनी ज्ञान मात्र नभई न्यायिक प्रक्रियाप्रति सचेत समेत गराएको सहभागी विद्यार्थीहरूले बताए।

प्रदेशभरका बीए एलएलबी अध्ययनरत आठ समूहहरू सम्मिलित प्रतियोगितामा विद्यार्थीहरूले काल्पनिक मुद्दामा अदालती बहस गरेका थिए।

प्रतियोगितामा सिटी क्याम्पस बुटवलका विद्यार्थीहरु प्रथम भएका छ्न भने तुलसीपुर मेट्रो कलेजका विद्यार्थी दोस्रो भएका छन्।

प्रतियोगितामा प्रथम हुनेले नगद रु २० हजार र ट्रफी प्राप्त गरेका छन् भने दोस्रो हुनेले नगद रु ८ हजार सहित ट्रफी प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

data-href="