after_navbar

विद्यालय समाज रूपान्तरणको जग हो: पोखरेल


माघ २१, २०८१


दाङ,२१ माघ। नेपाल पत्रकार महासङ्घका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोखरेलले विद्यालयलाई समाज रूपान्तरणको जग भएको बताएका छन्।

हिन्दू विद्यापीठ नेपाल, घोराही दाङको ३३औँ वार्षिकोत्सव तथा सरस्वती पूजा कार्यक्रममा बोल्दै उनले बालबालिकाको मनोविज्ञान बुझेर अध्यापन गराउँदा शैक्षिक गुणस्तरमा वृद्धि हुने बताए।

उनले हिन्दू विद्यापीठ स्कुलले संस्कार, संस्कृति र राष्ट्रियता जागरणमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको भन्दै प्रशंसा गरे।

विद्यालय सञ्चालक समितिका सदस्य रामदयाल गुप्ताको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोलानाथ योगी, प्याब्सन घोराही नगरका सचिव बिमल भण्डारी, शिक्षक अभिभावक समन्वय समितिका अध्यक्ष गिरिराज लम्साल, विद्यालयका प्रधानाध्यापक पिताम्बर रिजाल, विद्यार्थी जेशिका गुप्तालगायतले मन्तव्य व्यक्त गरे।

कार्यक्रममा रेबता योगी छात्रा पुरस्कार कक्षा १० की छात्रा जेशिका गुप्तालाई नगद ५ हजार ५ रुपैयाँसहित प्रमाणपत्र प्रदान गरेर सम्मान गरिएको थियो। त्यसैगरी, खगराज-शारदा लोहनी प्रतिभा पुरस्कार कक्षा १० की छात्रा अनु शर्मालाई पनि नगद ५ हजार ५ रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

विद्यालयमा ‘लेभल उत्कृष्ट’ र ‘कक्षा उत्कृष्ट’ छात्रछात्रालाई समेत पुरस्कृत गरिएको थियो। साथै, विज्ञान प्रदर्शनी, गीत, नृत्य, कविता र चित्रकलाका विभिन्न प्रस्तुति प्रस्तुत गरिएका थिए।

कार्यक्रममा उत्कृष्ट शिक्षक पुरस्कार मण्टेस्वरी प्रमुख पुष्पा रावतलाई प्रदान गरिएको थियो भने अभिभावक कुर्सी दौडका विजेतालाई पनि पुरस्कृत गरिएको थियो। विद्यालयका शिक्षक राज शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन विद्यार्थी शिला बुढाथोकी र निर्दोष विश्वकर्माले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

data-href="