दाङ,१७ साउन । दाङको मानपुर र कोठरीमा आज रक्तदान तथा रक्तदाता उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ।
रगतको अभाव कम गर्ने उद्देश्यले रेडक्रस दाङद्वारा सञ्चालित ‘समुदाय सङ अझ नजिक’ अभियान अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा ४ महिला सहित १४ जनाले रक्तदान गरेका छन् भने ८ जना नयाँ रक्तदाता सहभागी भएका छन्। तुलसीपुर उपमहानगरपालिका र स्थानीय सरकारको सहयोगमा रेडक्रस दाङको प्राविधिक सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा रेडक्रस मानपुर उपशाखाका सभापति जगदीश देवकोटाको अध्यक्षता तथा वडा नं. १६ का अध्यक्ष शिवानन्द डाँगीको प्रमुख आतिथ्य रहेको थियो। प्रमुख अतिथि डाँगीले रक्तदान जस्तो मानवीय कार्यमा सधैँ स्थानीय सरकारको साथ रहने प्रतिबद्धता जनाउँदै जनचेतना अभावका कारण मानिसहरू अझै पनि रक्तदान गर्न हिचकिचाउने गरेको बताए। यस्तो अवस्थालाई परिवर्तन गर्न जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको उनले बताए।
कार्यक्रममा रेडक्रस दाङका उपमन्त्री बिमल केसी र जिल्ला सदस्य भीमलाल मरासिनीले रक्तदानको महत्व, आवश्यकता र फाइदाका विषयमा सहजीकरण गरेका थिए। त्यस अवसरमा वडासदस्य गीता राणा, ससिधर पौडेल लगायतले आफ्ना धारणा व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन उपशाखा सहसचिव गिरिराज डाँगीले गरेका थिए। रेडक्रस दाङले आगामी दिनमा पनि समुदायसँग नजिकिँदै निरन्तर रक्तदान र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै लैजाने जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस