after_navbar

४० लाख बढीको अवैध सामग्री बरामद


३ घण्टा अगाडि


काठमाडौ,३ जेठ । सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रमा करिब ४० लाख रुपैयाँ बराबरको अवैध सामानसहित एक मालवाहक गाडी नियन्त्रणमा लिँदै दुई जनालाई पक्राउ गरेको छ।

जिल्लाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा क्षेत्रमा विशेष गस्तीका क्रममा नेपालबाट भारततर्फ अवैध रूपमा लैजान लागिएको सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजङ्ग थापा का अनुसार विशेष सुराकीका आधारमा खटिएको ३५ सदस्यीय टोलीले शनिबार राति करिब ९ बजे स१ख ५३५ नम्बरको टाटा टुटोन गाडीलाई शङ्कास्पद अवस्थामा रोकी जाँच गरेको थियो।

जाँचका क्रममा गाडीमा लुकाइछिपाई राखिएको कस्मेटिक सामग्री, मञ्जन (टुथपेस्ट) तथा ओखर फेला परेको जनाइएको छ।

बरामद गरिएको सामानसहित गाडीको अनुमानित बजार मूल्य करिब ४० लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा नवराजपुर गाउँपालिका–५ निवासी अन्दाजी ५० वर्षीय राजेशकुमार यादव र ३९ वर्षीय आनन्द यादव लाई पक्राउ गरिएको छ।

पक्राउ परेका दुवै व्यक्ति, बरामद सामान तथा गाडीलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी उपरीक्षक थापाले सीमा क्षेत्रमा हुने तस्करी तथा अवैध गतिविधि नियन्त्रणका लागि निगरानी र गस्ती अझ कडा बनाइएको बताए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="